मैले उसैलाई प्रेम गरेँ
जसले ‘म’ भित्रको मलाई पढ्न सक्यो
म भित्रको भाव बुझ्न सक्यो
जसले
फेरि अर्को पाना पल्टाएर
पढ्ने हिम्मत गर्यो
आजभोलि
म आकाशतिर फर्किएर
जूनमा भुलिन चाहन्नँ
किनकि
आफैँबाट उदाएका छन् मेरा चाँदनीहरू
मलाई कहिले जूनको तारिफ गर्न
औंशी पक्ष गुजार्न पर्दैन
आजभोलि मेरै जुनेलीहरू मलाई प्रेम गर्छन्
मलाई मन परेको एक उपन्यासजस्तै गरी
म सुनाउँछु
निदाउनुअगाडि
भृकुटीको गाथा
भोलि उनीहरू पनि
देशको चित्र बनाउँछु भन्दै निदाउँछन्
विश्वास छ,
देशको मानचित्र वा चित्र
साना छोरीहरूले नबिगारी बनाउँछन्
खुशीको सीमा छैन
तर, मेरो हर रात
कोल्टे फेर्दै दुखिरहन्छ
कारण,
देशको दुखाइको पनि त कुनै सीमा छैन
आखिर कसले बनाउँछ,
देशको जीवन्त चित्र ?
