
अनेसास जर्मनी–फ्रान्सको संयुक्त ‘शब्दानन्द’ कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा ‘शब्दानन्द’ नामक भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कवि नवराज पराजुलीको विशेष उपस्थिति तथा अन्तरक्रिया रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य अनेसास जर्मनीकी अध्यक्ष सुजाता घिमिरे राउतले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मातृभाषा, साहित्य, सांस्कृतिक उत्तरदायित्व तथा प्रवासमा नेपाली भाषाको पुस्तान्तरणबारे विचारपूर्ण संवाद भएको थियो।
कवि नवराज पराजुलीले भाषा केवल सञ्चारको साधन नभई भावना, स्मृति, संस्कार र पहिचानको महत्वपूर्ण माध्यम भएको विचार प्रस्तुत गर्दै सहभागीहरूलाई शब्द र अनुभूतिबीचको सम्बन्धलाई सिर्जनात्मक रूपमा अनुभव गर्न प्रेरित गर्नुभयो।
फ्रान्स र जर्मनीमा बसोबास गर्ने करिब २० जना नेपाली भाषा तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको कार्यक्रममा नयाँ पुस्तासँग नेपाली भाषाको सम्बन्ध, मौलिक शब्दहरूको संरक्षण तथा मातृभाषालाई सहज र आत्मीय ढङ्गले पुस्तान्तरण गर्ने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको समापन प्रशान्त उप्रेतीको धन्यवाद मन्तव्यसँगै भएको थियो। प्रवासमा नेपाली भाषा, साहित्य र भावनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘शब्दानन्द’ अनेसास जर्मनी र फ्रान्सबीचको साहित्यिक सहकार्यको महत्वपूर्ण पहलका रूपमा सम्पन्न भयो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सर्जक, साहित्यप्रेमी तथा सहयोगीहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
